नेपाली भाषा कक्षा सञ्चालन सम्बन्धी समझदारी पत्र (MOU)

मिति: २०८२ बैशाख १६ गते मंगलवार

नेपालि एशोशियसन अफ नर्दन क्यालिफोर्निया (Nepali Association of Northern California)

क्रियटिभ नेपाल युथ अर्गनाइजेशन (Creative Nepal Youth Organization)

 

नेपाली समुदायको समुन्नतिका लागि कार्यरत दुई संस्था – नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)क्रियटिभ नेपाल युथ अर्गनाइजेशन (क्रियटिभ) बीच नेपाली सामुदायिक भवनमा नेपाली भाषा कक्षा सञ्चालन सम्बन्धमा यो समझदारी पत्र तयार पारिएको छ।

१. पृष्ठभूमि (Background)

नेपालबाट अमेरिका आएर आफ्ना समुदायलाई संगठित गर्दै सेवा गर्ने उद्देश्यले सन् १९९४ मा स्थापना भएको नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC), उत्तरी क्यालिफोर्नियाको सबैभन्दा पुरानो नेपाली संस्था हो। यस संस्थाले नेपालीपन र संस्कृतिको जगेर्ना गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हालसालै, वर्षौं देखिको सामुदायिक भवनको सपना साकार पार्दै, सन् २०२५ को मार्च महिनामा सामुदायिक भवन खरिद गरिएको छ।

यस क्षेत्रको छाता संगठनको नाताले, NANC अब अन्य सामाजिक तथा सांस्कृतिक संस्था/समूहहरूसँग सहकार्य गर्दै नेपाली समुदायका कार्यक्रमहरू सामूहिकरूपमा सञ्चालन गर्न प्रतिबद्ध छ।

यसै क्रममा, नेपाली भाषा तथा संस्कृतिको संरक्षणमा क्रियाशील संस्था क्रियटिभ नेपाल युथ अर्गनाइजेशन (CNYO) ले विगत १४ वर्षदेखि नेपाली बालबालिकाहरूका लागि भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ। हालसम्म सो कक्षा अल्बानीस्थित सिनियर सिटिजन्स सेण्टरमा भाडामा सञ्चालन हुँदै आएकोमा अब NANC को सामुदायिक भवनमा स्थानान्तरण गर्ने निर्णय दुवै संस्थाले सहमतिका साथ गरेका छन्।

२. उद्देश्य (Purpose)

यस सम्झौताको उद्देश्य नेपाली भाषा कक्षालाई सामुदायिक भवनमा स्थानान्तरण गरी थप प्रभावकारी, सुविधाजनक तथा समावेशी वातावरणमा सञ्चालन गर्नु हो। नेपाली भाषा र संस्कृतिको संरक्षण, बालबालिकाको पहिचान सुदृढीकरण तथा समुदाय सुदृढीकरण यस सम्झौताका मूल उद्देश्य हुन्।

३. सहमतिका बुँदाहरू:

३.१. स्थानको व्यवस्था:

  • NANC ले CNYO द्वारा सञ्चालन गरिने नेपाली भाषा कक्षाका लागि आफ्नो सामुदायिक भवनमा निःशुल्क स्थान (कोठा) उपलब्ध गराउनेछ।

३.२. सञ्चालन समय:

  • कक्षा प्रत्येक महिनाको दुईवटा आइतवार, बिहान १०:०० देखि १२:०० बजे सम्म सञ्चालन हुनेछ।
  • कुनै कारणवश CNYO बाट कक्षा सञ्चालन गर्न नसकिने अवस्था भएमा ७ दिन अघिनै NANC लाई जानकारी दिनुपर्नेछ।
  • यस्तै, कुनै विशेष परिस्थिति वा कार्यक्रमको कारण NANC बाट कोठा उपलब्ध गराउन नसकिने भएमा CNYO लाई कम्तीमा ७ दिन अघिनै जानकारी गराउनेछ।

३.३. कार्य विभाजन:

NANC:

  • कक्षा सञ्चालनको लागि कोठा, टेवल, कुर्सी, पाटी तथा आवश्यक भौतिक पूर्वाधारहरू उपलब्ध गराउने।
  • ‘चौतारी’ कार्यक्रम सञ्चालनका लागि आवश्यक बैठक कक्ष वा वैकल्पिक कोठा निःशुल्क उपलब्ध गराउने।

CNYO:

  • शिक्षक व्यवस्थापन, पाठ्यसामग्री, स्टेशनरी लगायतका शैक्षिक सामग्रीहरूको व्यवस्था गर्ने।
  • कक्षा पश्चात सिर्जित फोहोरको व्यवस्थापन गर्ने।
  • कक्षा निरन्तरता सुनिश्चित गर्ने; निरन्तर सञ्चालन सम्भव नभएमा जानकारी दिने।

३.४. स्वेच्छिक सहयोग:

  • सामुदायिक भवनका लागि अभिभावक वा CNYO को तर्फबाट हुने स्वेच्छिक सहयोग स्वागतयोग्य र प्रशंसनीय हुनेछ।

३.५. उत्तरदायित्व अस्वीकरण (Waiver of Liability):

  • यो सम्झौताअनुसार NANC र CNYO दुवै पक्ष कुनै पनि व्यक्तिगत, कानुनी वा आकस्मिक घटनाको जिम्मेवार हुने छैनन्।
  • सबै अभिभावकहरूले आफ्ना बालबालिकाको जिम्मेवारी स्वयम् लिनुपर्नेछ।

३.६. विशेष परिस्थिति:

  • कुनै विशेष परिस्थितिमा कक्षा सञ्चालन सम्भव नभए, दुवै पक्षको सहमतिमा आवश्यक निर्णय लिइनेछ।
  • अन्यथा, CNYO बाट कक्षा सञ्चालन भइरहेसम्म यो सम्झौता यथास्थितिमा कायम रहनेछ।

४. निष्कर्ष

यो सम्झौता दुई संस्थाबीचको आपसी समझदारी तथा सहकार्यको प्रतिबिम्ब हो। नेपाली भाषा, संस्कृति र समुदाय सेवाको साझा दायित्वका आधारमा दुवै पक्ष सहमत छन्।

आवश्यक परेमा यो सम्झौता दुवै पक्षको सहमतिमा परिमार्जन, नवीकरण वा संशोधन गर्न सकिनेछ।

 

नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया

प्रितेश कार्की

अध्यक्ष

 

क्रियटिभ नेपाल युथ अर्गनाइजेशन

कमल श्रेष्ठ

अध्यक्ष

 

रोहवर:

टीका लम्साल

थिंक ट्यांक समुह (नान्स)

सल्लाहकार (क्रियटिभ

 

डा.  नबराज लम्साल 

साहित्यकार, मदन पुरस्कार विजेता

 


दस्ताबेज हेर्न यहाँ क्लिक गर्नुहोस् (PDF)