शुभकामना तथा हार्दिक आभार

सम्पूर्ण बेएरियावासी नेपाली बाआमा, दाजुभाई, दिदीबहिनीहरुमा नेपाली नयाँ वर्ष २०८२को उपलक्ष्यमा सुःख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।
 
नयाँ वर्षको सन्दर्भ पारेर नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्नियाले अप्रिल १३ आइतबारका दिन रिचमण्डमा अवस्थित नेपाली सामुदायिक केन्द्रमा ‘प्रथम नयाँ वर्ष मेला’मा सरिक भएरै हामीले एकअर्कासँग शुभकामना आदानप्रदान गर्यौं। मौलिक परिकारको स्वाद लियौं, नेपाली भजन, गीत र नृत्यमा रमायौं। जन्मभूमीभन्दा टाढाको कर्मभूमीमा रहेर विशेष दिनमा नेपालमै भएजस्तै महसुस गर्यौं।
 
नयाँ वर्ष मेलामा तपाईंहरुले जनाउँनु भएको अपार सहभागीताले कार्यक्रम आयोजकको रुपमा न्यान्सको हौसला बढेको छ। मध्यान्हदेखि राती अबेरसम्मै सामुदायिक केन्द्र परिसरमा खचाखच उपस्थिति देख्दा न्यान्स नेपालीको साझा संस्था त थियो नै, अब सामुदायिक केन्द्र हामी सबैको मुलघर नै बनेको महसुस गरेका छौ।
 
मेला आयोजना गरिरहँदा हामीलाई सवारी पार्किङ, बालबालिकालाई खेल्ने, आनन्दसँग बस्ने र टहलिने ठाउँको समेत प्रयाप्त नहुनसक्छ भन्ने पूर्वाभाष थियो। तर, पनि हाम्रो आफ्नै मेहनत र पसिनाको कमाईबाट किनिकएको सामुदायिक केन्द्रमा भेला भएर विशेष दिन मनाउनुको आनन्द कुनै सार्वजनिक पार्कमा गर्नु भन्दा भावनात्मक रुपमा बढी आत्मिय होला भन्ने सोचेरै सामुदायिक केन्द्रमा नै मेला गर्ने निर्णय गरेका थियौं। दिनभरमा ४ हजार भन्दा बढीको उपस्थितिले हामीले गरेको निर्णयलाई अनुमोदन गरेको महसुस गरेका छौ। उपस्थिति जनाउने तपाईं आम वेएरियावासी नेपालीलाई फेरिपनि ह्दयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छौ।
 
योजनाअनुसार मेलालाई सफल पार्न प्रतिस्पर्धाबाट सहभागी हुने ३ फुड ट्रक, थप ३ फुड भेन्डर, २० भन्दा बढी बिजिनेस भेन्डर, ५ दर्जनभन्दा बढी कलाकार, साहित्यकार, ३० भन्दा बढी स्वयमेवकहरुमा विशेष धन्यवाद दिन चाहन्छौं। आगामी दिनमा यस्ता कार्यक्रम गर्दा तपाईंहरुले अहिले दिनुभएका सुझाबहरुलाई समेत ध्यानमा राखेर अझै व्यवस्थित र  सहभागीतामुलक बनाउने प्रतिवद्धता गछौं। मेलामा ९० हजारभन्दा बढीको आर्थिक कारोबार भएकोमा ४५ हजार डलर बराबरको त खाना मात्रै बिक्री भएको थियो। यो सामाजिक, सास्कृतिक मात्रै होइन् व्यापारिक हिसाबले पनि ऐतिहासिक नयाँ वर्ष बनेको छ।
 
आदरणीय वेएरियावासी नेपालीहरु
 
नयाँ वर्ष मनाइरहँदा हामीले व्यक्तिगत रुपमा गर्ने प्रणका अलवा सामुदायिक रुपमा साझा प्रतिवद्धतासमेत गर्नुपर्नेछ। विक्रम संमत् २०८१ मा हामीले विभिन्न संघर्ष गरेर किनेको सामुदायिक भवन २०८२मा पेडअफ गर्ने हाम्रो साझा संकल्प छ। त्यसमा पनि सबैसँग साथको लागि अपील गर्दछौं।
 
फेरी पनि नयाँ वर्ष २०८२ को हाद्र्धिक मंगलमय शुभकामना।
 
 
प्रितेश कार्की
अध्यक्ष, न्यान्स
२०८२ बैशाख १