महाशिवरात्री विशेष रुद्राभिषेक पूजा

महाशिवरात्रिको पावन अवसरमा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) द्वारा आयोजित विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भगवान शिवको विशेष पूजाअर्चना तथा रुद्राभिषेक बिहानैबाट सुरु भई, दिनभरि भक्तजनहरूको उपस्थितिमा शिव भजन तथा शिवधुनीजागरण सहित शिवरात्रि पर्व उल्लासमय रूपमा मनाइयो।

कार्यक्रममा सयौं श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। न्यान्स को अगुवाइमा समुदाय एकजुट भई पूजाको सम्पूर्ण तयारी एवं व्यवस्थापन गरियो। प्रसादका रूपमा खीर, तरकारी, सेलरोटी लगायतका परिकारहरू समुदायका सदस्यहरूको योगदानमा तयार पारिएको थियो। साथै, विभिन्न सहयोगी दाताहरूबाट चिया, मसलालगायतका आवश्यक सामग्रीहरू प्राप्त गरिनुका साथै अपुग सामग्रीका लागि सामूहिक आर्थिक सहयोग संकलन गरिएको थियो।

यस धार्मिक अवसरमा हामीले नेपाली सामुदायिक केन्द्र निर्माणका लागि $15,022 (पन्ध्र हजार बाइस डलर) सहयोग संकलन गर्न सफल भएका छौं। समुदायको ऐक्यबद्धता र सहकार्यले नै यो महत्वपूर्ण उपलब्धि सम्भव भएको हो।

यस कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण समुदायका सदस्यहरू, सक्रिय स्वयंसेवकहरू तथा आर्थिक सहयोगी महानुभावहरू प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। तपाईंहरूको समर्पण, ऐक्यबद्धता, र सहयोगकै कारण हामी यस पावन पर्वलाई भव्य रूपमा सम्पन्न गर्न सक्षम भयौं।

तपाईं सम्पूर्णमा भगवान शिवको दिव्य आशीर्वाद प्राप्त होस्।

ध्रुव बस्याल

संयोजक, शिवरात्रि विशेष पूजा आयोजना समिति