नेपाली सामुदायिक केन्द्र भवनको खरिद प्रक्रिया सम्पन्न

प्रेस विज्ञप्ति
फेब्रुअरी २५, २०२५

अमेरिकामा ठूलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बे एरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना गर्ने सपना सार्थक भएको खबर सुनाउन पाउँदा हामी हर्षविभोर भएका छौ। अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले सन् १९९४ मा स्थापनादेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेको थियो। बेएरियावासी तपाईँ सम्पूर्ण सहयोगी हात र मन जोडिएर चन्दा संकलनबाटै भवन खरिद गर्न सफल भएका छौं। यो हामी सबैको साझा प्रयत्नको प्रतिफल हो। यो ऐतिहासिक अवसरमा सामुदायिक केन्द्र खरिदका लागि सहयोग गर्नुभएको सबैप्रति धन्यवाद दिन चाहन्छौ।
बेएरियाको रिचमण्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजिएस प्रोपर्टी सुरुमा २४ लाख ७० हजार अमेरिकी डलरमा बिक्रीमा राखिएकोमा हामीले हालेको १८ लाख ६० हजारमा अफर परेको थियो। गत अक्टोबरमा अफर परेपछि न्यान्स नोभेम्बरदेखि समुदायमा विभिन्न सामाजिक, सांस्कृतिक अभियानमार्फत् सहयोग संकलनमा जुटेको थियो ।

अहिले नेपाली समुदायका झण्डै ५ सय व्यक्ति एवं संस्थाबाट संकलित करिव ७ लाख डलर, न्यान्यले अघिल्ला अभियानमा संकलन गरेको र खातामा रहेको ९५ हजार डलर, समुदायकै सदस्यबाट सापटी लिएको १ लाख ८० हजार डलरसमेत गरेर ४५ प्रतिशत डाउनपेमेन्ट र वाँकी रकम बैंक ऋणबाट भवन खरिद गरिएको हो। हामीले खरिद गरेको भवन करिव १० हजार ८ सय स्क्वायरफिटको भवन संरचना क्षेत्र र ५४ हजार स्क्वायरफिटको पार्किङ छ। भवनमा ५सय २८ सिट क्षमताको सभाकक्ष, २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा, ११० भन्दा बढी गाडी पार्किङ र थुपै शौचालय छन्।

करिव ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास लिएका छौं। यसले नेपालीभाषी र नेपाली विभिन्न जातजाती भाषा, संस्कृति र परम्परा मान्ने सदस्यहरुबीच भावनात्मक एकता अझै प्रगाढ पार्ने हाम्रो विश्वास रहेको छ।

यसक्षेत्रमा बसोबास गर्ने नेपालीमध्ये करिव ७ सय व्यक्ति र परिवार प्रत्यक्ष सहयोगबाट जोडिएपनि यो सामुदायिक केन्द्र सबैको साझा सम्पती हो। संस्थाले लिएको सापटी फिर्तासहित बैंक ऋणसमेत तिरेर छिट्टै भवन पेडअफ गर्ने हाम्रो योजना छ। सिंगो समुदाय एकजुट हुँदा यो कठीन विषय भने होइन। मासिक किस्ताको भार नपर्नेगरी भवन पेडअफ गर्न सकियो भने, हामीले समुदायका सेवाका अझै थुप्रै कार्यक्रम गर्न अझै सहज हुनेछ। तसर्थ सम्पूर्ण बेएरियाबासी नेपाली समुदायसँग आफूले सकेको चन्दा सहयोगमार्फत् यो साझा संकल्पमा जोडिन समेत पुनः हार्दिक अपील गर्दछौं।

अध्यक्ष
प्रितेश कार्की

Loan Sign Press Release